काठमाडौँः जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको बन्दी गृहमा मृत्यु भएको थियो । गृह मन्त्रालयमा आइतबार मुस्लिम समुदायसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताए । उनले सामाजिक सद्भाव कायम गरी सत्यतथ्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको बताए । सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको त्यसमा आफू प्रतिबद्ध रहेको बताए ।

ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानविन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ । गृहमन्त्री खाणले स्थानीयले विश्वास गर्ने गरी अहिलेको छानविन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिए । -रासस