काठमाडौँः नेपाल एकीकृत समाजवादीले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ ।

सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ । समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण,विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ ।

यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थितरुपमा प्रकाशन गर्न देशभर समाचार सङ्कलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका थिए । यही कात्तिकको तेस्रो सातासम्म पार्टी निकट समाजवादी प्रेस सङ्गठनको भेला गरी घोषणासभा गरिने समाजवादीप्रेस सङ्गठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए । सो सङ्गठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ । -रासस