काठमाडौँः नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबिसिजिएसआई) को १४ औं बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ ।

उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनासहितको टोली भोलि त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रूपमा छलफल गर्ने उद्धेश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए ।

परामर्श समूहको १४ औं बैठक वि.सं २०७६ चैतमा भारतको नयाँ दिल्लीमा गर्ने योजना रहेकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । भारतको तर्फबाट पनि बाह्य मामिला मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने उक्त बैठकमा तालिम र क्षमतासम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ । -रासस