इटहरीः अमेरिकाले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस गरेको छ ।

अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो । खोप निर्माता कम्पनीले गत सेप्टेम्बरमा गरेको परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो । यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।

अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले थप अनुमति दिनुपर्छ । उक्त निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने बताइएको छ । जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु गरिने अमेरिकी अधिकारीले जनाएका छन् । अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार कोरोना महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ । देशभरि अहिलेसम्म कोरोनाभाइरसका कारण ७ लाख ४० हजारको मृत्यु भएको तथ्याङ्क छ ।