पुराना मोबाइल फोन, ल्यापटप तथा कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्न सकिने भएको छ । काम नलाग्ने पुराना विद्युतीय उपकरणबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने प्रविधिको विश्वकै पहिलो प्रयोगको योजना ब्रिटेनको सिक्का निर्माता रोयल मिन्टले सार्वजनिक गरेको हो ।

रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपका अनुसार यस प्रविधिले विद्युतीय फोहोर कम गर्न, बहुमूल्य धातु संरक्षण गर्न तथा नयाँ सिपको विकास गर्न ठुलो प्रभाव पार्न सक्छ । प्रविधिमा प्रयोग हुने रसायनले बहुमूल्य धातुलाई क्षणभरमै सर्किट बोर्डबाट निकाल्ने जनाइएको छ ।

परीक्षण प्रयोगमा नौ सय ९९ दशमलव नौ प्रतिशत शुद्ध सुन निकालिएको छ भने यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने बताइएको छ । सन् २०२१ मा फ्याँकिएका विद्युतीय फोहोर पाँच करोड ७० लाख टनभन्दा बढी भएको अनुमान गरिएको छ ।

यस विषयमा केही नगरिए सन् २०३० सम्म यस्तो फोहोर सात करोड ४० लाख टन पुग्ने र यो सन् २०२० को आँकडाभन्दा झन्डै दोबर रहेको रोयल मिन्टले जनाएको छ ।

पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग हस्ताक्षर गरिसकेको छ । ती उपकरणलाई पगालेर नभई सामान्य तापक्रममै बहुमूल्य धातु निकाल्ने रोयल मिन्टको योजना छ । –बीबीसीबाट