काठमाडौँः माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको छ । फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’लाई निषेध गर्ने बताएको हो । त्यस्तै फ्रान्सले च्यानल द्विप समूहमा इन्धन आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको छ । बेलायती जल क्षेत्रमा आफ्ना डुंगालाई थप पहुँच नदिएको खण्डमा नोभेम्बर २ देखि फ्रान्समा आउने बेलायती वस्तुमाथि कठाइका साथ भन्सार तथा स्यानिटरी चेकजाँच गरिने र सी फुडमाथि प्रतिबन्ध लगाइने फ्रान्स सरकारका ग्याब्रियल अट्टले बताए । फ्रान्सका युरोप मामिला मन्त्री क्लेमेन्ट बिउनले समेत अन्य व्यापारिक वस्तुमाथि थप कठाइ तथा चेकजाँच गर्न सकिने बताएका छन् । तर बेलायतका ब्रेक्जिट मामिला मन्त्री डेभिड फ्रस्टले फ्रान्सको धम्कीलाई ‘निराशाजनक’ भनेका छन् ।

नजिकको मित्र र साझेदारबाट यस्तो अपेक्षा नगरिएको भन्दै फ्रस्टले भने, ‘फ्रान्सको धम्की निराशाजनक तथा असमान छ र नजिकको मित्र तथा साझेरदारबाट यस्तो अपेक्षा गरिँदैन ।’ ब्रेक्जिटपछि बेलायतले आफ्नो जल क्षेत्र वरपर र च्यानल द्धिपसमूहमा माछा मार्न चाहने युरोपेली डुंगालाई इजाजतपत्र दिने कार्यमा कठाइ गरेपछि फ्रान्ससँग विवाद बढ्दै गएको हो ।विशेषगरी बेक्जिटपछि बेलायतको अधिनमा रहेको स्वशासित च्यानल द्धिपसमूहमा माछा मार्ने अधिकारलाई दिएर दुबै मुलुकबीच विवाद उत्पन्‍न भएको छ । युरोपेली युनियनका माछा मार्ने डुंगामाथि जर्सी टापूको सरकारले कडाइ गरेपछि मे महिनामा फ्रान्सेली मछुवाले विरोध प्रदर्शन गरेका थिए । फ्रान्सका मछुवाले अबरोध गर्ने चेतावनी दिएपछि बेलायतले जर्सी टापूमा गस्ति गर्ने डुंगा पठाएको थियो । -बीबीसीबाट