इटहरीः गत असोज ४ गते दक्षिणी सुनसरीको भुटाहामा गोली चल्यो । भारतीय नम्बर प्लेटको गाडीमा आएका २ जना बन्दुकधारीले मुस्लिम अगुवा खुर्सिद अन्सारीको हत्या गरे । हत्यारा भारतीय भएको भन्ने अनुसन्धानले पत्ता लगाए पनि उनीहरूलाई कठघरमा ल्याएर कारबाही अहिलेसम्म भएको छैन ।

खुर्सिद अन्सारीको हत्याका ठीक ६० दिनपछि आज बिहान सनुसरीमै अर्का मुस्लिम व्यवसायीको हत्या भएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ को छाताबेलीका इँटा व्यवसायी फिदा हुसेनको हत्या भएको हो ।

दुहबीको जयबाबा इँटा उद्योगमा व्यवस्थापक रहेका हुसेनलाई २ जना बन्दुकधारीले बिहान साढे ६ बजे गोली हानेका थिए । ३ गोली लागेका भनिएका हुसेनलाई उपचारको लागि विराटनगर लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गोली हानी हत्या गरिएका ५४ वर्षीय हुसेन दुहबी नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष मेहेदी हुसेनका भाइ हुन । हत्या गर्ने आपराधिक समूह हुन सक्ने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले प्रदेश पोर्टललाई बताएका छन् ।

हुसेन हत्या स्टेट किलिङ हो ?
असोज ४ गते भुटाहामा हत्या गरिएका खुर्सिद अन्सारीको ‘स्टेट किलिङ’ भएको धेरैले अनुमान गरेका छन्न । भारतीय बन्दुकधारीले हत्या गर्नु र भारतीय नम्बर प्लेटमा आएर हत्या गरिनु मात्रै होइन, भारतले खुर्सिदको सुपुर्दगी गर्न पटकपटक नेपाललाई आग्रह गरेको कुराले स्टेट किलिङ रहेको धेरैले बताउँदै आएका छन् ।

अन्सारीको हत्याको छानबिन गर्न गठित एसएसपी किशोर दाहाल नेतृत्वको समूहले पनि खुर्सिदका हत्यारा भारतमा भएको निष्कर्ष निकालेको थियो ।

के हुसेन हत्या पनि यस्तै अपराध हो ? वा अन्य कुनै कारणले हो ? यस विषयमा प्रहरीले केही अनुमान गर्न सकेको छैन । हुसेनका आफन्त र स्थानीयहरूले कसले हत्या गरेको हो भनेर अहिल्यै अनुमान गर्न सकिरहेका छैनन् ।