इटहरीः सुनसरीको दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको हो । व्यवसायीलाई प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थक बजार बन्द गराउन निस्किएका पत्रकार प्रेम गिरीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
गिरीका अनुसार बजार पसल बन्द गराउन निस्किएको समूहले मेडिकल पसलमा समेट क्षति पुर्याएको छ । सो समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएको छ । पसल बन्द गराउँदै हिँडेका व्यक्तिले सो मेडिकल बन्द गराउन भनेका थिए । तर, साहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डी कसेपछि उनीमाथि सो समूह जाइलागेको थियो ।
अहिले दुहबीका विभिन्न स्थानमा टायर बालिएको छ । अवस्थालाई मध्यनजर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।
उनका अनुसार दुहबीको अवस्थालाई शान्त बनाउने प्रयास जारी छ ।