लन्डनः लन्डनको सेलिसबरीमा गएराति दुईवटा रेल आपसमा जुध्दा थुप्रै व्यक्ति घाइते भएका छन् ।

यो दुर्घटना लन्डन रोडनिर भएको थियो जसमा साउथ वेस्टर्न रेल्वे र ग्रेट वेस्टर्न सर्भिस आपसमा जुधेका थिए । रेल जुध्दा एक जना चालक भित्रै अड्किएका थिए जसलाई उद्धार टोलीले बाहिर निकालेको थियो । यो घटनामा १७ जना घाइते भएका छन्। उनीहरू अस्पतालमा उपचाररत छन् । एउटा रेलले सुरूङभित्र कुदिरहेको अवस्थामा कुनै वस्तुलाई ठक्कर दिएको थियो । त्यही बेला दोस्रो रेल अघिल्लो रेलसँग जुध्दा दुर्घटना भएको हो। रेल्वे ट्रयाकमा रहेका संकेत चिह्नहरूको समस्याले दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । दुर्घटना हुँदा रेलमा रहेकी एन्जेला म्याटिंग्ली भन्छिन्, ’रेल गुड्दा गुड्दै अचानक चारैतिर अन्धकार भयो। रातो बत्तीहरू झिलिक झिलिक बलेको मात्र देख्यौँ ।’ ’त्यसपछि रेल बेस्कन हल्लियो र घद्रकघद्रक गर्दै निकै बेर उफार्यो,’ उनले भनिन्, ’मैले सम्झेसम्म केही यात्रुहरू आफ्नो सिटबाट उछिट्टिएका थिए ।

sf2

 

उनीहरूको टाउकोमा चोट लागेको हुनुपर्छ ।’ ’केही समय त मलाई के भयो भन्ने नै होस भएन, होसमा आउँदा चारैतिर अफरातफरी मच्चिएको थियो,’ उनले भनिन् । डर्बीकी ५१ वर्षीया कोरिना एन्डरसन पनि लन्डनको वाटरलूबाट आफ्नो साथी भेट्न सेलिसबरी जाँदै थिइन् । रेल गुड्दा गुड्दै उनले एक्कासि ठूलो आवाज आएको सुनिन् र आफ्नो सिटबाट हुत्तिएर रेलको भित्तामा जोडसँग बजारिन पुगिन् । आकस्मिक स्वास्थ्य सेवामा तालिमप्राप्त एन्डरसनले भनिन्, ’मैले केही बेरमा आफूलाई सम्हालेँ । त्यसपछि दुर्घटनामा घाइतेहरूको उद्धार गर्नमा मेरो ध्यान गयो ।’ लन्डन रेल्वेका प्रवक्ताले पोर्टसमाउथ हार्बरबाट ब्रिसटल टेम्पल गइरहेको ग्रेट वेस्टर्न रेल्वे सर्भिस सुरूङभित्र कुनै वस्तुमा ठोक्किँदा लिकबाट बाहिर उछिट्टिएको बताएको छ । त्यही क्रममा अर्को लिकबाट कुदिरहेको रेलसँग जुधेको प्रवक्ताको भनाइ छ । त्यो रेल लन्डल वाटरलूबाट होनिटन जाँदै थियो । -बीबीसीबाट