टोकियोः एक महिनाअघि मात्र सत्तामा आएका जापानी प्रधानमन्त्री फुमियो किसिदाका लागि आइतबार भएको संसदीय निर्वाचन फलदायी साबित भएको छ । 

निर्वाचनमा प्रधानमन्त्री किसिदाको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) एक्लैले बहुमत ल्याउने भएको छ । अहिलेसम्म प्राप्त परिणामअनुसार एलडिपीले जापानको तल्लो सदनमा २३३ भन्दा बढी सिटमा आफ्नो जित सुनिश्चित गरिसकेको छ । जापानको तल्लो सदन ४६५ सिटको छ । अहिलेसम्म जति सिटमा एलडिपीको जित सुनिश्चित भएको छ, त्यति मात्रले पनि प्रधानमन्त्री किसिदा गठबन्धन दलको सहयोगबिना नयाँ सरकार बनाउन सक्ने छन् । यही महिना लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा विजयी भएपछि ६४ वर्षीय किसिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए । लगत्तै उनले अर्काे आमनिर्वाचनको तयारी थाले । उनले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारी अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका थिए ।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका थिए । देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रम ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग उनले आग्रह गरेका थिए । यसअघि चुनावी सर्वेक्षणहरूले पनि अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने नतिजा देखाएको थियो । तर सर्वेक्षणको नतिजाविपरीत किसिदाको पार्टीलाई अब गठबन्धन सरकार बनाउने दरकार पर्ने छैन ।

जापानमा ४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् । किसिदा राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका थिए । उनका बुवा र हजुरबुवा सांसद थिए । जापानमा धेरै समय विदेशमन्त्री हुने व्यक्ति पनि किसिदा नै हुन् । उनी सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री भएका थिए । किसिदा हिरोसिमाका बासिन्दा हुन् । उनले नै सन् २०१६ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको हिरोसिमा भ्रमण तय गरेका थिए । -बीबीसीबाट