सिक्किमः सिक्किमका राज्यपाल गंगा प्रसादले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको विशेष उपस्थितिमा हिजो भारतका पहिलो गृहमन्त्री सरदार वल्लभ भाई पटेलको १५६ औं जन्म जयन्तीको अवसरमा दक्षिण सिक्किमको नाम्चीमा नव–निर्मित भाइचुङ स्टेडियमको उद्घाटन गरेका छन् ।

लौह पुरुषको उपाधिले प्रसिद्ध सरदार बल्लभभाई पटेलको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरिन्छ । उल्लेख्य, नवनिर्मित भाइचुङ स्टुडियमलाई उपराष्ट्रपति एम वेंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम भ्रमणको समय २० अक्टोबरको दिन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो, तर खराब मौसमका कारण वहाँको सिक्किम भ्रमण रद्द भएपछि यस स्टेडियमको उद्घाटन स्थगित गरिएको थियो । हिजो सरदार बल्लभभाई पटेलको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भाइचुङ स्टुडियमको उद्घाटन मुख्यमन्त्री पीएस गोलेको उपस्थितिमा राज्यपाल गंगा प्रसादले गरेका हुन् । कार्यक्रममा राज्यपाल गंगाप्रसाद मुख्य अथितिको रूपमा उपस्थित रहेका थिए भने मुख्यमन्त्री पीएस गोले विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । यसका अतिरिक्त सिक्किम विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, सिक्किम विधानसभाका सदस्य, लोकसभा सांसद, मुख्यमन्त्रीका राजनीतिक सचिव, विभिन्न विभाग, बोर्ड र निकायका सल्लाहकार र अध्यक्ष, राज्यका शीर्ष अधिकारी, भारतीय फुटबल टिमका पूर्व कप्तान तथा अन्तरराष्ट्रिय खेलाड़ी भाइचुङ भोटिया, नागरिक समाजका प्रतिनिधि, भूतपूर्व सैनिक र आम जनताको बाक्लो उपस्थिति रहेको थियो ।

skm7 (2)

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले भाइचुङ स्टेडियम नाम्चीको लागि मात्र नभएर सिक्किमकै लागि आदर्श स्टेडियम रहेको बताए । उनले यो स्टेडियम निर्माण गर्न सफल बनेकोमा सिक्किम सरकार र जनतालाई बधाइ दिए । सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले नवनिर्मित भाइचुङ स्टेडियमको उद्घाटन भएकोमा हर्ष व्यक्त गर्दै जबसम्म भाइचुङ स्टुडियम रहनेछ तबसम्म पूर्व फुटबल कप्तान भाइचुङ भोटियाको नाम अमर रहने बताए । राष्ट्रिय एकता दिवसको अवसरमा वृहत कार्यक्रम आयोजना गरेर भाइचुङ स्टुडियमको उद्घाटन गर्न पाउनु गौरवपूर्ण विषय हो भन्दै भाइचुङको जन्मथलो सिक्किमले उनलाई दिएको यो स्टेडियम एउटा विशिष्ट उपहार रहेको मुख्यमन्त्रीले बताए । खेललाई प्रतिस्पर्धाको रूपमा मात्र होइन एकताको रूपमा लिइनुपर्ने उल्लेख्य गर्दै यस स्टेडियमको उद्घाटनले सिक्किमे समाजमा एकता र भाइचाराको सन्देश फैलिनेछ भन्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे । भाइचुङ भोटियाकै उपस्थितिमा उद्घाटन समारोह सम्पन्न हुनु सबैको निम्ति अहोभाग्य हो भन्दै मुख्यमन्त्रीले भाइचुङ भोटियालाई बधाइ पनि दिए ।

skm5 (2)

पूर्व सरकारले स्टुडियम निर्माण कार्यलाई हरसम्भव ढिलाइ गरेका कारण खेलाडीहरुमा भएको असुविधाप्रति खेद व्यक्त गर्दै मुख्यमन्त्रीले कोभिडको वैश्विक महामारीको चपेटमा परेर पनि वर्तमान सरकारले डेढ वर्षको अन्तरालमा स्टेडियम निर्माण गर्न सकेको बताए । स्टेडियमको उद्घाटन सम्पन्न गराइदिएकोमा मुख्यमन्त्रीले राज्यपालप्रति आभार व्यक्त गरे । मुख्यमन्त्रीले राष्ट्रिय एकता दिवसको औचित्यमाथि पनि प्रकाश पारे । वर्ष २०१२ देखि निर्माण कार्य शुरु भएको नाम्चीको भाइचुङ स्टेडियमको निर्माण २०१५–मा पूरा हुनुपर्ने थियो । तर, ठेकेदार अनि राज्य सरकारको अनबनका कारण यस खेल मैदानले पूर्णता पाउन पूरा एक दशक लाग्यो । राज्यको दोस्रो फूटबल स्टेडियमका रूपमा निर्माण भएको भाइचुङ स्टेडियमको कूल दर्शक क्षमता लगभग १० हजार रहेको छ । यस स्टेडियमको खेल क्षेत्र एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको रहेको छ भने स्टेडियम भित्र रहेको कुल मैदानको क्षेत्र १ सय १५ मिटर लम्बाइ र ७८ मिटर चौडाइको रहेको छ । मैदानमा टाइगर टर्फ लगाइएको छ जसलाई फिफाले मान्यता दिइसकेको छ ।

skm6 (2) skm4 (2) skm8 (2) skm3 (2)