इटहरीः सुनसरीको दुहबीमा भएको गोली काण्डबारे जिल्लाका उच्च तहका सुरक्षा अधिकारी, आफन्त र राजनीतिक तहका व्यक्तिबीच अहिले दुहबीमा वार्ता भइरहेको छ ।

हत्या गरिएका व्यक्ति फिदा खानको घरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, पूर्व मन्त्री रामकुमार सुब्बा, नेपाली काङ्ग्रेसका सुनसरी सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश सांसद लीलम बस्नेतसहितका नेताहरूबीच छलफल भइरहेको बताइएको छ ।

उनीहरूले हत्याको कारणबारे बुझ्ने प्रयास गरिरहेका छन् भने घटनामा संलग्न रहेकालाई चाँडो पत्ता लगाउने बताइरहेका छन् । यता व्यवसायी तथा स्थानीयले भने हत्यामा संलग्नको चाँडो पत्ता लगाउन माग गरिरहेका छन् । उनीहरूले प्रशासनले हेलचेक्र्याइँ गरेको भन्दै सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेको गुनासो गरेका छन् ।

आफन्तहरूले गृहमन्त्री नआएसम्म शव नउठाउने अड्डी कसिरहेका छन् । उनीहरूलाई सम्झाउने काम जारी रहेको प्रदेश सांसद लीलम बस्नेतले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।