इटहरीः दुहबीमा हत्या गरिएका व्यवसायी फिदा खानका आफन्तले ५ प्रमुख माग राखेका छन् । खानलाई राज्यले शहीद घोषणा गर्नुपर्ने, विद्युत प्राधिकरणको स्थायी जागिरे भएको हुँदा आफन्त एक जनालाई जागिरको सुनिश्चितता गर्नुपर्ने, राज्यले १० लाख क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्री रामबहादुर थापा बादल घटनास्थलमा आउनुपर्ने र मुस्लिमको सुरक्षा व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन् ।

बिहान खानको घरमा सुनसरीका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरूको वार्तामा खानका आफन्तले यस्ता माग राखेका हुन् । वार्तामा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, सांसद सीताराम मेहेता, दुहबीका मेयर वेद गच्छदारलगायतको उपस्थिति रहेको थियो ।

सो वार्तामा संलग्न भएका प्रदेश सांसद लीलम बस्नेतले दिएको जानकारीअनुसार पीडितका परिवार तथा आफन्तबाट आएका मागलाई प्रमुख जिल्ला अधिकारी उप्रेतीले टिपोट गरी माथिल्लो निकायमा पठाउने तयारी गरेका छन् ।

पीडित पक्षले भने दुहबी बजार बन्द गराएका छन् । हत्यारा पक्राउ नगरेसम्म बजार नखुलाउने उनीहरूको भनाइ छ ।