जेनेभाः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन् ।

खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन् । ’त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर खोपको खपत बराबर मात्रामा हुन सकेको छैन । यसले समस्या निम्त्याएको छ,’ डब्लुएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भने । उनले खोपहरूमा रहँदै आएको अन्तर बन्द गर्न युरोपेली अधिकारीहरूलाई आग्रह गरेका छन् । ब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आफ्नो जनसंख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले आफूसँग भएका खोप अन्य विकासोन्मुख देशलाई दिनुपर्ने बताएका छन् । ’संवेदनशील समूहका मानिसलाई बाहेक अरूलाई बुस्टर डोज दिन हतार गर्नु पर्दैन,’ टेड्रोसले भने । 

उनले खोप निर्माताहरूसँग कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन् । गरिब देशले कोभिड–१९ खोपको १ प्रतिशतभन्दा कम प्राप्त गरे पनि अफ्रिका र दक्षिणपूर्वी एसियामा गत साता ९ प्रतिशत संक्रमण घटेको पाइएको छ । ६० भन्दा बढी देशले जाडो यामभन्दा पहिले नै कमजोर प्रतिरोधी क्षमताविरूद्ध लड्न बुस्टर डोज दिन थालेका छन् । यद्यपि अर्को कोभिड लहर आउने सम्भावना अझै कायम छ । अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाले यो साता कोभिडविरूद्ध खोप लिन थालेपछि अधिकारीहरूले जोखिमभन्दा लाभ बढी भएको टिप्पणी गरेका छन् । यसअघि बिहीबार डब्लुएचओको ५३ देशका युरोप क्षेत्र निर्देशक डा. हान्स क्लुगेले बढ्दो संक्रमित संख्या ’गम्भीर चिन्ताको विषय’ भएको बताएका थिए । ’युरोप महामारीको केन्द्रविन्दुमा फर्किएको छ जहाँ हामी एक वर्षपहिले थियौं,’ डब्लुएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने ।

क्लुगेले चेतावनी दिँदै भनेका छन्, ’कोरोना भाइरसबाट संक्रमितको अस्पताल भर्ना दर गत साता दोब्बरभन्दा बढी भएको छ । यस्तै बढ्दै जाने हो भने युरोप क्षेत्रमा थप पाँच लाखको महामारीबाट मृत्यु हुनसक्छ ।’ क्लुगेले यस क्षेत्रका देशहरू ’भ्याक्सिनेसन रोलआउटको विभिन्न चरणमा’ रहेको र क्षेत्रव्यापी औसत ४७ प्रतिशत मानिसलाई पूर्ण रूपमा खोप लगाइएको बताएका छन् । आठ देशमा भने उनीहरूको जनसंख्याको ७० प्रतिशतलाई पूर्ण खोप लगाइएको छ । युरोपको कोभिड–१९ संक्रमण दर लगातार पाँचौं सातासम्म बढिरहेको पाइएको छ । संक्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो जसले प्रति एक लाख व्यक्तिमा १ सय ९२ नयाँ संक्रमण भएको देखाएको छ । ’हामी स्पष्ट रूपमा अर्को लहरमा छौं,’ स्वीडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले बिहीबार भनेका छन्, ’महामारीको बढ्दो रूप युरोपमा केन्द्रित छ ।’

 मध्य र पूर्वीयुरोपका धेरै देशमा हाल दैनिक संक्रमण दर बढेको छ । एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले बिहीबार अनलाइन ब्रिफिङमा विज्ञहरूले सबैलाई खोप लगाउन आग्रह गरेको छ । ’युरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ । किनकी संक्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको संख्यामा वृद्धि भएको देख्न सक्छौं,’ इएमएका क्लिनिकल अध्ययन र निर्माण कार्य बलका प्रमुख फर्गस स्विनीले भने । उनका अनुसार सबैलाई पूर्ण मात्राको खोप लगाउन अनिवार्य छ। यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो । -रासस\एपी