भारत मध्यप्रदेशस्थित बाल अस्पतालको उपचारकक्षमा आगलागी हुँदा चार शिशुको मृत्यु भएको छ ।

मध्यप्रदेशको भोपालस्थित कमला नेहरु बाल अस्पतालको एसएनसियुमा गएराति आगलागी भएको हो । घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिइएको छ । चिकित्सा शिक्षामन्त्री विश्वास सारङ्गले त्यस उपचार कक्षभित्रको अवस्था एकदमै भयानक भएको भन्दै ‘सर्ट सर्किट’का कारण आगलागी भएको हुन सक्ने बताए । उनका अनुसार एसएनसियु कक्षमा सम्भवतः सर्ट सर्किटको कारण आगलागी हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । 

एक अधिकारीका अनुसार अस्पतालको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । ९ बजेतिर आगो लाग्न सुरु भएको र अग्नि नियन्त्रकहरू झन्डै १० बजेतिर आगो निभाउन पुगेको ती अधिकारीले बताएका छन् । त्यस उपचार कक्षमा ४० बालबालिका भर्ना गरिएको थियो । ३६ जनाको अरू कक्षमा उपचार भइरहेको जनाइएको छ । – पीटीआईबाट