चिनियाँ कम्युनिस्ट पार्टीले राजनीतिक इतिहासमा राष्ट्रपति सी चिनफिङलाई शक्तिशाली बनाउँदै एक ’ऐतिहासिक’ प्रस्ताव पारित गरेको छ ।

 यस ‍ दस्तावेजमा पार्टीको पछिल्लो सय वर्षको इतिहासको सारांशका साथ पार्टीका प्रमुख उपलब्धि र भविष्यको दिशाबारे चर्चा गरिएको छ । कम्युनिस्ट पार्टीको स्थापनापछि यो तेस्रो प्रस्ताव हो । सबैभन्दा पहिलो प्रस्ताव १९४५ मा माओत्से तुङले र दोस्रो प्रस्ताव देंङ सियाओपिङले १९८१ मा पारित गरेका थिए । वर्तमान प्रस्तावलाई बिहीबार पार्टीको छैठौं महाधिवेशनबाट पारित गरिएको हो । यस अधिवेशनलाई चीनको महत्त्वपूर्ण राजनीतिक बैठकमध्ये एक मानिन्छ । यो प्रस्ताव पारित गर्नुको उद्देश्य सीलाई पार्टीका संस्थापक माओ र उनका उत्तराधिकारी देंग सियाओपिङको बराबरीमा उभ्याएको बिबिसीले जनाएको छ । 

यो प्रस्ताव देङ सियाओपिङको समयबाट चीनद्वारा सुरु गरिएको विकेन्द्रीकरणको प्रयासलाई फिर्ता लिने प्रयासको रूपमा केहीले हेरेका छन् । पछिल्लो करिब चार दशकमा देशमा विकेन्द्रीकरणको प्रयास भइरहेको छ । ताजा घटनाक्रमपछि चीनको राजनीति फेरि एक व्यक्तिको आसपास घुम्ने सङ्केत देखिएको छ । आगामी वर्ष हुन लागेको राष्ट्रिय काङ्ग्रेसभन्दा पहिला पार्टीका नेताहरूको यो अन्तिम ठूलो बैठक थियो । र, आशा गरिएको छ कि उक्त काङ्ग्रेसमा सीले राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो ऐतिहासिक कार्यकाल पाउने प्रयास गर्नेछन् । यसअघि चीनले २०१८ मा राष्ट्रपति पदका लागि दुई कार्यकालको सीमा हटाएको थियो । यसले सी आजीवन पदमा रहन सक्ने जनाइएको छ । -बीबीसीबाट