इटहरीः अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन गरिएको छ ।

गत नोभेम्बर १३ शनिबारका दिन मूलुक बाहिर ३० बर्ष अगाडी सबै भन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औ वार्षिक तथा नेपाल सम्बत ११४२ समारोहमा उक्त गीत बिमोचन गरिएको हो ।

गत नोभेम्बर १३ शनिबारका दिन युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतलाई मदन कृष्ण श्रेष्ठका सुपुत्र यमन श्रेष्ठले गरेका छन् भने उनकै सुपुत्री गायिका ,निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ । उक्त गीतमा स्वयम मदन कृष्ण श्रेष्ठले गीत गाउनुको साथै सराना श्रेष्ठ ,यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय समेत रहेको छ ।

अमेरिकाबाट बिमोचन गर्ने भनेको मिति र तिथि तय भएको दिन नै उता नेपालमा हरिवंश आचार्यको जन्म दिन परेकोले मदन कृष्ण श्रेष्ठले अरबौं मान्छेहरुमा तिमी बिशेष मन मिल्ने मान्छे भन्दै सामाजिक सञ्जालमार्फत् हरिबंश आचार्यको जन्मदिन भएको कारण कार्तिक २७ गते मेरो लागि बिशेष दिन भएको भन्दै उक्त गीत नेपालबाट पनि सार्वजनिक गरिएको थियो ।

साथै वरिष्ठ कलाकार श्रेष्ठले ,छोरी सराना श्रेष्ठले गीत लेखेर, त्यस गीतमा छोरा यमन श्रेष्ठले संगीत भरेर सराना कै निर्देशनमा निर्माण गरेर मलाई उपहारस्वरुप दिएको यो “ ह्यापी हर्ट “ नयाँ गीतको म्यूजिक भिडियो तिमी (हरिवंश )लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एउटा सानो उपहारस्वरुप साँझा (शेयर ) गरेको छु भनी सामाजिक सञ्जाल(फेसबुक)मा प्रकाशित गरेका छन् ।

अमेरिकाबाटै हरिवंश आचार्यलाई जन्म दिनको शुभकामनासमेत दिएका थिए । उनले छोरी सराना नभएको भए यो गीत सम्भव थिएन ,उनले भने । छोरी सरानाले बिमोचनमा उक्त ४–५ बर्ष अगाडी नै लेखेर राखेको र आफू नेपाल गएको बेलामा बुवाको मुख हेर्ने दिन भएकोले दाजु यमनसंग सल्लाह गरेर मन खुसी हुने (ह्यापी हर्ट ) उपहार दिने भनेर सल्लाह गरे पछि यो गीत सम्भव भएको बताइन ।

उनले चर्चित गायिका इन्दिरा जोशीले पनि मनै खुशी हुने गरि गीत गाउनु भएकोमा धन्यवाद दिदै ह्यापी हर्ट(खुसि मन) गीत दर्शकहरुको मनलाई अझ खुसी बनाउन गीत प्रस्तुत गर्ने भने पछि गीत देखाइएको थियो । गीत बिमोचनमा एनपीपीएका अध्यक्ष राजु जोशी पनि मञ्चमै उपस्थित भै गीत बिमोचन गराएका थिए ।

यसैगरी, संगीत संयोजन उदय राज पौडेलको रहेको छ भने छायांकन हरि हुमागाईले गरेका छन् । कोरियोग्राफी राजिब समरले गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका हुन् ।