इटहरीः मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

राति करिब ८ः०० बजे को २ त ८६८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सहचालक रङ्गेली नगरपालिका–१ का २२ वर्षीय विजय हेमरन र ट्याक्टरमा सवार १५ वर्षीय बालक अविनाश मरन्डीको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा उपचारका क्रममा राति १०ः२५ बजे दुवै जनाको मृत्यु भएको हो ।

ट्याक्टर र चालक रङ्गेली–१ का २७ वर्षीय आइत सतार टुडुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको पाइएको डीएसपी राईले बताए । उकालो बाटो पार गर्ने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै प्रंहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।