इटहरीः सार्क फाइनान्सको अध्यक्षमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी चयन भएका छन् ।

सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरु सम्मिलित ४२ औँ सार्क फाइनान्स गभर्नर ग्रुपले नेपाल राष्ट्र बैंकका गर्भनरलाई एक वर्षका लागि अध्यक्षमा चयन गरेको हो । सोमबार सम्पन्न भर्चुअल बैठकलाई माल्दिभ्स मनिटरी अथोरिटीले आयोजना गरेको थियो । जसमा बङ्गलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्भ बैंक, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान, सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर तथा डेपुटी गभर्नर सहितको बैठकले नेपालका गभर्नरलाई आगामी एक वर्षका लागि सार्क फाइनान्सको अध्यक्षमा चयन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैठकलाई तत्कालीन सार्क फाइनान्सको अध्यक्ष रहेका माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अली हसिमले स्वागत गरेका थिए । बैठकमा सार्क फाइनान्सका गभर्नरबीच आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधनान्तर स्थिति, कुल विदेशी विनिमय सञ्चिति, कर्जा प्रवाह, तलरता व्यवस्थापन, जनशक्ति विकास, जलविद्युत पर्यटन लगायतका साझा चासोका विषयमा छलफल भएको गर्भनरको कार्यालयले जानकारी दिएको छ । बैठकमा नेपालका तर्फबाट गभर्नर अधिकारीले सार्क फाइनान्स कोलाबोरेटिभ स्टडीको बारेमा नेपाल राष्ट्र बैंकले नेतृत्व गरेको प्रोस्पेक्टस अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी इन सार्क रिजनको प्रगति बारेमा जानकारी गराएको बताइएको छ ।

 बैठकमा सहभागी राष्ट्रहरुका गभर्नरहरुले नेपालका गभर्नर अधिकारीलाई सार्क फाइनान्सको अध्यक्षमा चयन भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । नेपाल राष्ट्र बैंकको तर्फबाट बैठकमा डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु डा.नेफिल मातङ्गी, डा.प्रकाशकुमार श्रेष्ठ, निर्देशक डा.रामशरण खरेल तथा सार्क फाइनान्स संयोजक एवम् निर्देशक नारायणप्रसाद पोखरेल लगायतले सहभागिता जनाएका थिए ।