इटहरीः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको देशव्यापी आम हड्तालको प्रभाव सुनसरीमा पनि देखिएको छ ।

जिल्लाको इटहरी, इनरुवा, धरान, दुहवीलगायत नगर क्षेत्रका मुख्य सडक सुनसानजस्तै भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने सिटी सफारी तथा मोटरसाइकल भने छिटफुट रुपमा चलिरहेका छन् । बजार, पसल, कलकारखाना तथा शिक्षण सँस्था पूर्ण रुपमा बन्द भएका छन् । बन्दकर्ताले अराजक गतिविधि गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मुख्य बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । यसैबीच, इटहरीमा बजार बन्द गराउँदै हिँडेका विप्लव समूहका एक दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरको शान्तिसुरक्षामा खलल पुर्याउनबाट रोक्न २१ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । यसैगरी, इलामबाट पनि बन्द गराउँदै हिँड्ने दुई जना विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । उता, उदयपुरको गाईघाटमा बन्द आह्वान गर्दै सडकमा निस्केका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले तितरवितर पारेको उदयपुर प्रहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।