इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको आजको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद उपस्थित नभएपछि स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार आज अपराहन्न १२ः३० बजेका लागि आह्वान गरिएको बैठक बस्नासाथ स्थगित भएको हो । प्रमुख प्रतिपक्षी एमालेले आफ्ना सांसदहरु नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण उपस्थित हुन नसकेको तर्क गरेका छन् । यद्यपि, प्रदेशसभाको बैठक नै एमालेको इच्छाविपरीत बसेको र सोही पार्टीका सांसद मात्र बैठकमा अनुपस्थित रहेबाट एमालेले मुख्यमन्त्री राईलाई विश्वासको मत लिनबाट रोक्ने नियतले बैठक स्थतिग गराएको सत्ताधारी सांसदहरुको आरोप छ । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः३० बजे बस्ने कार्यसूची तय भएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार गत कार्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोसहित नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, जनता समाजवादी पार्टी नेपाल प्रदेश संसदीय दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश संसदीय दलका नेता विष्णु तुम्बाहाम्फे राईको संयुक्त समर्थनमा नेता राईलाई मुख्यमन्त्री नियुक्त थिए ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्नेमा ५० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राईले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री राईले मङ्गलबार विश्वासको मत लिने कार्यसूची तय भएको थियो ।

उनले आइतबार दिउँसो विश्वासको मतसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए । सरकारमा सहभागी पाँच दलले मुख्यमन्त्री राईलाई विश्वासको मत दिन हिजो (सोमबार) ह्विप जारी गरिसकेका थिए । तर नेकपा एमालेका सांसदहरु विप्लव समूहको बन्दलाई आधार बनाएर बैठकमै अनुपस्थित भएपछि विश्वासको मत लिने प्रकृयाले गति लिन नसकेको हो ।

यसैबीच, मुख्यमत्री राईले प्रतिपक्षी दलको दुःख दिने नियतलाई सभामुख भण्डारीले प्रश्रय दिएको आरोप लगाएका छन् । प्रदेशसभा बैठक स्थगित भएपछि बैठकस्थलबाट बाहरिने क्रममा मुख्यमन्त्री राईले प्रतिपक्षीले दुःख दिने नियत राखेको र सभामुखले सो कदमलाई सघाएको आरोप लगाएका हुन् । ​​​​​​​’नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले जुन दिन चाह्यो– त्यो दिन विश्वासको मत लिन सक्छ,’ मुख्यमन्त्री राईले भने, ’यो त पहिले नै सार्वजनिक भइसकेको कार्यसूची हो । आजको बैठक सार्नुपर्ने कुनै कारण नै होइन । यो खालि दुःख दिने नियतमात्रै भयो ।’