इटहरीः दुहबीका फिदा हुसेनको हत्यापछि आन्दोलनमा रहेका मृतकका आफन्त र सरकारबीच सहमति भएको छ । केही बेर अघि सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहेता र सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीसहितको उपस्थितिमा ४ बुँदामा सहमति जुटेको उप्रेतीले जानकारी दिए ।
मृतकका पक्षबाट राखिएका मागमध्ये सङ्घीय सरकारका गृहमन्त्री रामबहादुर थापाको राजीनामाबाहेकका बुँदामा सहमति जुटेको हो । जसमा मृतकलाई शहीद घोषणा गर्न सिफारिश गर्ने, १० लाख क्षतिपूर्ति दिने, मृतकका छोरालाई रोजगारी दिने र हत्यारालाई खोजी कारवाही गर्ने विषयमा सहमति जुटेको हो ।
मृतकक पक्षबाट शव सडक किनारामा राखी दुहबीमा आन्दोलन गर्दै आएका थिए । उनीहरूले प्रशासनको विरुद्ध नाराबाजी गरेका थिए भने सडक अवरुद्ध पारी सवारी आवागमनमा अवरोध सिर्जना गरेका थिए ।
हुसेनको हिजो बिहान साढे ६ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।