इटहरीः धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटामा हुन लागेको एभोकाडो महोत्सवको तयारी पूरा भएको छ ।

नगरपालिकाका पर्यटन विभाग प्रमुख विकास अधिकारीका अनुसार प्रदर्शनीस्थल र स्टेजको निर्माण सकिएको छ भने धमाधम स्टलको बुकिङ भइरहेको छ । महोत्सवको तयरी अन्तिम चरणमा पुगेको आयोजक धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका खेम थापाले बताए । धनकुटा नगरपालिका सहआयोजक भएको महोत्सवमा ३५ वटा स्टल निर्माण गरिएको थापाले जानकारी दिए । निर्माण भएका अधिकांश स्टल बुक भइसकेका छन् भने कृषकहरु आउने क्रममै रहेका छन् । धनकुटा जिल्लाका संघीय सांसद राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रममा एक हजारभन्दा बढी कृषकले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजक समूहका थापा बताउँछन् ।

निर्धारित समयमै सुरु गर्नेगरी कार्यक्रमको तयारी गरिएको नगरपालिकाका विकास अधिकारीले बताए । कार्यतालिकाअनुसार भोलि बिहान १० बजे विभिन्न झाँकीसहित धनकुटा नगरपालिकाको एभोकाडो चोकबाट कार्यक्रम सुरु गरिने र साढे ११ बजे औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको अधिकारीले बताए । महोत्सवको आकर्षण साङ्गीतिक कार्यक्रमका साथमा विभिन्न झाँकी र विभिन्न प्रजातिको एभोकाडोको प्रदर्शनी र बिक्री नै भएको आयोजकको भनाइ छ । पहिलो दिन विभिन्न साँस्कृतिक कार्यक्रम र प्रदर्शनी रहने र दोस्रो दिन कृषक र सरोकारवाला पक्षबीच अन्तरकृया कार्यक्रम, प्रदर्शनी र समापन कार्यक्रम रहने बताइएको छ ।