धनकुटाः एभोकाडोको विषयमा विज्ञता हासिल गर्न चाहनेलाई धनकुटा नगरपालिकाले आर्थिक सहयोग गर्ने नगरप्रमुख चिन्तन तामाङ्गले घोषणा गरेका छन् ।

धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा धनकुटामा भएको एभोकाडो महोत्सवमा शुभकामना मन्तव्य राख्दै नगरप्रमुख तामाङ्गले सो घोषणा गरेका हुन् । “यदी कोही एभोकाडोको विषयमा पीएचडी हासिल गर्न चाहनुहुन्छ भने आउनुहोस् धनकुटा नगरपालिका त्यसमा आर्थिक सहयोग गर्न तयार छ ।” मेयर तामाङ्गले भने । एसियाकै दोस्रो एभोकाडो महोत्सवको रुपमा आयोजना भएको महोत्सवमा बोल्दै नगरप्रमुख तामाङ्गले महोत्सवबाट नगरका किसानलाई ठूलो फाइदा भएको बताए । पहिलो महोत्सवताका ५० ÷ ६० रुपैयाँ प्रतिकिलो भएको एभोकाडो अहिले तीन गुणाले बढेर प्रतिकिलो चार सयभन्दा माथि पुगेको तामाङ्गले बताए । नेपाल सरकारको एक प्रदेश एक उत्पादन कार्यक्रमअन्तर्गत धनकुटालाई एभोकाडोको राजधानीको रुपमा चिनाउने आफ्नो सपना विस्तारै साकार हँुदै गएको तामाङ्गले बताए ।

IMG_8650

धनकुटाको लोकप्रीय उत्पादन सुन्तलाको मौसम परिवर्तनका कारण उत्पादन घट्दै जानुका साथै बोटहरु एकाएक मर्न थालेपछि आफूले धनकुटाका किसानका लागि बहुवर्षीय बालीको रुपमा एभोकाडोलाई विकास गर्नुपर्छ भनेर किसानलाई विकल्प दिएको र किसान आफँै जागृत भएर एभोकाडोको खेति र उत्पादनमा लागेको उनले बताए । पहिलो महोत्सवबाट किसानले उत्पादनमा जोड दिएपछि अहिले उत्पादनमा वृद्धि भएको तर बोटमा समस्या आउने, रोगले गर्दा बिरुवा मर्नेजस्ता समस्या आएकाले ती समस्याको समाधानका लागि छलफल र समस्याको निरुपण गर्न विज्ञसहितको दोस्रो महोत्सवको आयोजना गरिएको तामाङ्गले सुनाए । 

IMG_8634

मेयर तामाङ्गले उत्पादन मात्र गरेर नहुने भन्दै अब उत्पादन भएको एभोकाडोको गुणस्तर र अर्गानिकता कायम राख्न पनि किसानहरु जागरुक भए मात्र एभोकाडोको व्यावसायिकताले फड्को मार्ने उल्लेख गरे । अहिले किसानले ८ देखि १० लाख रुपैयाँको वार्षिक उत्पादन गरिरहेको एभोकाडो अबको ५ बर्षपछि ठूलो परिमाणमा उत्पादन गर्न सकिने उनले बताए ।   धनकुटा नगरपालिकामा उत्पादन भएको एभोकाडोलाई बजारको समस्या समाधान गर्न धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा नीति क्षेत्रको सक्रियतामा प्रशोधन उद्योगसमेत खुल्न लागेको मेयर तामाङले जानकारी गराए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले एभोकाडोको विषयमा नगरपालिकाले अहिलेसम्म गरेका कामहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नगरपालिकाको पहलमा किसानलाई बेर्ना वितरण गर्नेदेखि तालिम सञ्चालन गरेको र पहिलो एभोकाडो महोत्सव भव्य रुपमा सम्पन्न गर्नुका साथै एभोकाडोको प्रतिमा सहितको एभोकाडो पार्कसमेत निर्माण गरेको विवरण प्रस्तुत भएको थियो ।

IMG_8627

 डम्बर रोगुले सञ्चालन गरेको उद्घाटन सत्रको कार्यक्रममा प्रदेश नम्बर १ का साँसदहरु निरन राई, जिल्ला विकास समन्वय समिति धनकुटाका प्रमुख टङ्क चुहान, कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डा.गोविन्द तिम्सिना, भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्रालय प्रदेश नम्बर १ का प्रवत्ता डा. राजेन्द्र उप्रेती लगायतले एभोकाडोलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि आआफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । ३५ वटा स्टल रहेको महोत्सवको उद्घाटन सत्रको सभापतित्व धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेम थापाले गरेका थिए । भोलिसम्म चल्ने महोत्सवमा एभोकाडोमा देखिएका समस्या र चुनौतिको बारेमा विज्ञहरुसँगको अन्तक्रिया कार्यक्रमसमेत गरिने नगरपाकिाका पर्यटन शाखाका विकास अधिकारीले जानकारी दिए ।

IMG_8698

 कार्यक्रममा धनकुटा जिल्लामा एभोकाडो खेति गर्ने किसानलाई उत्साहित गर्ने र धनकुटाको एभोकाडोलाई देशविदेशमा चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै कृषि अभियन्ता जीवन राईलाई नगर ५ हजार रुपैयाँसहित सम्मानपत्र र खादाले सम्मान गरिएको थियो । कार्यक्रमको बीचबीचमा धनकुटा बहुमुखी पाठशालाका कलाकारहरुले विभिन्न नृत्य, स्वदेश गान र राष्ट्रिय झण्डासहितको प्रस्तुतिले मनोरञ्जन दिलाएका थिए ।

IMG_8675 IMG_8681 IMG_8629