धनकुटाः धनकुटा जिल्लाबाट निर्वाचित संघीय सांसद राजेन्द्रकुमार राईले गाँजा खेति गर्नेलाई जेल हाल्न नहुने बताएका छन् । 

धनकुटा नगरपालिका र धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटामा शनिबारबाट सुरु भएको दोस्रो एभोकाडो महोत्सवमा प्रमुख अतिथिको रुपमा आएका सांसद राईले मन्तव्यको क्रममा गाँजा खेति खुल्ला हुनुपर्नेमा जोड दिएका थिए । शहीदभूमि गाउँपालिकाका जनताको समृद्धिका लागि गाँजा खेति आवश्यक भएको समेत राईले बताए । २०३० सालदेखि प्रतिबन्धित भएको गाँजा खेतिलाई कानून बनाएर पुनः खेतिका लागि किसानलाई उत्साहित गर्नुपर्नेमा सांसद राईले जोड दिए । संयुक्त राष्ट्रसंघले समेत गाँजा औषधि भएको बताइसकेकाले यसको खेतिमा प्रतिबन्ध लगाउने नभई किसानलाई यसको खेति गर्न दिएर जनता र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने उनको भनाइ छ । जनता धनी बनाउनका लागि गाँजा खेति उपयुक्त भएको समेत राईले बताए ।

आफूहरुले संसदमा विधेयक पेस गरेको भएपनि अहिलेसम्म त्यो विधेयक संसदमै विचाराधीन रहेकाले त्यो पारित गरेर गाँजा खेति खुल्ला गराउनुपर्ने राई बताउँछन् । कार्यक्रममा बोल्दै सांसद राईले जबसम्म कृषि क्षेत्रलाई राम्रो नीति ल्याएर माथि लान सकिँदैन, तबसम्म देशले उन्नति गर्न नसक्ने बताए । धनकुटाका किसानलाई धनी बनाउन एभोकाडो खेति गर्न धनकुटावासीलाई अनुरोधसमेत गरे । एभोकाडो नगदे बाली भएकाले यसबाट पैसा आउने र यो दीर्घकालीन खेति भएकाले यसमा लाग्न धनकुटाका किसानलाई राईले आग्रह गरे । जनशक्तिको आवश्यकता भएको बताउँदै यसको पाठ्यक्रम बनाएर अघि बढ्न नगरपालिकालाई उनले अनुरोधसमेत गरे । सीटीईभीटीबाट सीप परीक्षण गरेर एभोकाडोको खेतिमा सफल किसान उत्पादन गर्न नगरपालिकालाई आग्रह गरे । 

धनकुटा नगरपालिका सफासुग्घर भएको बताउँदै राईले धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले नगरपालिकाको लागि राम्रो काम गरेका भन्दै प्रशंसा गरे । एभोकाडो हेर्न र किन्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने र धनकुटाको पर्यटनलाई टेवा मिल्ने राईले बताए । हिजोभन्दा आज धनकुटाको पर्यटनमा निकै विकास भएको बताउँदै उनले अब एभोकाडोले धनकुटाको पर्यटनलाई विस्तार गर्ने बताए । धनकुटामा एभोकाडोको विकास हुनु भनेको धनकुटावासीको लागि खुुसीको कुरा भएकाले नगरपालिकाले लिएको नीतिमा सहयोग गर्न धनकुटावासीलाई सांसद राईले आग्रह गरे । धनकुटामा आयुर्वेदिक विश्वविद्यालय बनाउन पहल गर्नेसमेत राईले बताए । एभोकाडो खेतिबाट जनताले हजार हजारका नोट गोजीमा हाल्न पाउने भन्दै सांसद राईले धनकुटा नगरपालिकाले राम्रो काम गरेको बताए । ‘हामी एभोकाडो खेतिमा लागौँ । सरकारले नीति मात्र बनाउने हो । काम गर्ने भनेको हामीले हो ।’ राईले भने । अब प्रशोधन केन्द्र यहीँ खुल्ने भएकाले एभोकाडो बेच्न इटहरी र धरान जानु नपर्ने हुँदा एभोकाडोको खेतिमा ध्यान दिन धनकुटा नगरपालिकाका जनतालाई राईले आग्रह गरे ।

नयाँ सरकारले धनकुटाको बजेट कटौति गरेकोमा आपत्ति
धनकुटाबाट निर्वाचित संघीय सांसद राईले केपी ओली नेतृत्वको सरकारले धनकुटा जिल्लालाई छुयााएको १० करोड रुपैयाँमध्ये शेरबहादुर देउवा नेतृत्वले ७ करोड कटाएर ३ करोड मात्र छुट्याएको भन्दै त्यसमा आपत्ति जनाएका थिए । धनकुटाका जनताले के बिगारेका थिए र पैसामा कटौति भयो भन्दै राईले गठबन्धन सरकारलाई प्रश्नसमेत गरेका थिए ।
बजेट कटौतिप्रति आक्रामक बन्दै सरकारलाई चुनौति दिने सांसद राईले बताए । जनताको सहयोगमा सरकारको विरुद्धमा जस्तोसुकै कदम चाल्न तयार रहेको उनको भनाइ थियो । कृषि क्याम्पस खोलेर कृषि उत्पादनमा जोड दिनेतिर जानुपर्ने बताउँदै राईले धनकुटाको विकासका लागि आफूले थुप्रै काम गरेको बताए ।