धनकुटाः एभोकाडोको राजधानीको रुपमा चिनिएको धनकुटा नगरपालिकामा आयोजना भएको दुई दिने दोस्रो एभोकाडो महोत्सव आइतबार सम्पन्न भएको छ । 

शनिबार सुरु भएको महोत्सव, उद्घाटन सत्र, एभोकाडोको प्रदर्शनी, बिरुवा र मल तथा बिउको प्रदर्शनी, एभोकाडोसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया र कृषकलाई कृषि सामग्री हस्तान्तरण गर्दै आइतबार सम्पन्न भएको हो । ३५ वटा स्टलमा किसानहरुले सक्रियताका साथ आफूले उत्पादन गरेको एभोकाडोको बिरुवा र फलको प्रदर्शनी गरेका थिए ।
एभोकाडोलाई पछिल्लो समय विभिन्न प्रकारका रोगहरुले सताउन थालेपछि नगरपालिकाले सरोकारवाला किसान र कृषि अनुसनधान केन्द्र पाख्रिबासका विज्ञसँग अन्तरक्रिया कार्यक्रमसमेत गर्यो । 

अन्तरक्रियाबाट साझा सहमतिअनुरुप अध्ययनअनुसन्धान गरेर प्रमाणीकरण गरेरै धनकुटाको एभोकाडोलाई ब्राण्डिङ्ग गर्ने, प्रचारप्रसार र प्रवद्र्धनमा ध्यान दिने, एभोकाडो समूहलाई अझ सशक्त बनाएर सबै किसान सहभागी हुनेगरी अगाडि जाने सहमति गरिएको सो अवसरमा थियो ।  यसैगरी, एभोकाडोको विषयमा विज्ञता हासिल गर्न चाहानेलाई धनकुटा नगरपालिकाले आर्थिक सहयोग गर्ने नगरप्रमुख चिन्तन तामाङ्गले घोषणासमेत गरेका थिए । महोत्सवको समापन सत्रमा सहभागी किसानलाई प्रमाणपत्र प्रदान गरिनुका साथै किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दै समापन गरिएको धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए ।