चितवनः नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ ।

मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो । बिहान ९ देखि साँझ साढे ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए ।

आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् । प्रजिअ तामाङले भने, ‘यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार उक्त दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ। उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ । -रासस