इटहरीः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ ।

निर्वाचनका लागि आन्तरिक सहमति हुन नसकेको भन्दै आज बिहान ९ः०० बजेका लागि तय भएको निर्वाचन अनिश्चित बन्न पुगेको हो । पार्टीका उपसभापति विजयकुमार गच्छदारको निर्वाचन क्षेत्रसमेत रहेको सुनसरी ३ मा बुधबार पनि पूर्वनिर्धारित तालिकाअनुसार मतदान हुन सकेको थिएन । मतदान स्थगनको कारण भने रोचक छ । उपसभापति गच्छदारको पुरानो पार्टी फोरम लोकतान्त्रिकका अध्यक्षलाई सोझै कांग्रेसको क्षेत्रीय अध्यक्ष बनाउन गच्छदारले जोडबल गरेपछि क्षेत्रीय सभापतिका कांग्रेस भित्रका आकाङ्क्षीहरू मेहदी हसन र सत्यनारायण गच्छदारले प्रतिरोध गर्दा चुनाव नै बिथोलिएको हो । विवादित उमेद्वार चौधरीले भने चुनाव नलड्ने मौखिक घोषणा गरेका छन् ।

मैदानमा मेहदी हसन र सत्यनारायण गच्छदार गरी दुई जनामात्र रहेका छन् । मतदान अधिकृत देवनारायण यादवले दिउँसो २ बजे टाँसेको मतदान कार्यक्रम स्थगित गरिएको सूचनामा ‘मतदान कार्य सुरु गर्नुअघि गर्नुपर्ने मुचुल्काका लागि केही उम्मेदवारका प्रतिनिधि अनुपस्थित रहेकाले मतदान कार्य रोक्नुपरेको,’ उल्लेख छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा काङ्ग्रेसको क्षेत्रीय निर्वाचन सम्पन्न भइसकेको छ ।

1d25bf27-fe46-45e7-97b2-4ff5fbcef2e0