सङ्खुवासभाः रुद्राक्ष खरिदबिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्न चार जना चिनियाँ नागरिक धरौटी छुटेका छन् । आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ती व्यापारी १६ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
रिहा हुनेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन रहेका छन् । उनीहरूलाई जनही ४ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको जिल्ला अदालत सङ्खुवासभाले जनाएको छ । एक समूहले खरिद गरेको रुद्राक्ष ल्याउँदै गर्दा अर्को समूहले थप रकम दिएर खोसाखोस गरेपछि विवाद उत्पन्न भएको थियो ।
गत कात्तिक ४ गते सदरमुकाम खाँदबारीमा रुद्राक्ष खरिदबिक्री गर्ने विषयमा विवाद उत्पन्न भएपछि दुई समूहबीच कुटाकुट भएको थियो । कुटपिटका क्रममा आफ्नै साथी छिन जेन्वीङको टाउकोमा इँट्टा प्रहार भएको थियो । उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
घाइते छिन जेन्वीङको उपचार काठमाडौंमा भइरहेकाले पक्राउ परेका चारैजनालाई धरौटी लिई तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । रिहा हुने चारै जना व्यापारी सदरमुकाम खाँदबारीमा घर भाडामा लिएर गत वर्षदेखि नै रुद्राक्ष खरिद बिक्रीको समयमा बसोबास गरिरहेका थिए ।
रुद्राक्षबाट छोटो समयमा राम्रो आम्दानी हुने भएकाले चिनियाँ व्यापारीहरू सङ्खुवासभाबाट खरिद गरेको रुद्राक्ष चीन लगेर बिक्री गरेर पुनः सङ्खुवासभा आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले ५० जनाभन्दा बढी चिनियाँ व्यापारीहरू सङ्खुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटलहरूमा बसोबास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।