इटहरीः लागूऔषध मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका अभियुक्त सुनसरीको धरान उप–महानगरपालिका ७ का ४१ वर्षीय नौसाद सिद्धिकी र चोरी मुद्दाका अभियुक्त मोरङको कटहरी गाउपालिका १ का २३ वर्षीय सुरज कामत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पक्राउ परेका दुवैजनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागि हिजो कारागार चलान गरिएको छ ।

लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०७१ साल पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष १ महिना २४ दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका सिद्धिकी र चोरी मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना भई लगत नं.– ५८१ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो बिहान ११ः०० बजे फेला पारी पक्राउ गरी जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।