इटहरीः सुनसरीको धरान–८ स्थित तीनकुनेमा आज अपराहन्न भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।

अपराहन्न ४ः४५ बजे धरानबाट इटहरी तर्फ आइरहेको को १ ख २९८८ नम्बरको बस र इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३८९४ नम्बरको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार घाइतेमध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको छ ।

उनीहरु दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी रहेको उनको भनाइ छ । धरान प्रवेशद्वार तीनकुनेबाट केही तल र विश्वकर्मा मन्दिरभन्दा करिब १ सय मिटर उत्तरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।