इटहरीः मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका एक युवकको मृत्यु भएको छ ।

कुटपिटमा परेका सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिश कटुवाल मोरङको केराबारी गाउँपालिका–६ को मुगु भन्ने स्थानमा स्थानीय खेम लिम्बूको घरमा हिजो शुक्रबार मृत फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार चार–पाँच जनाको सङ्ख्यामा रहेका युवाहरूले बिहीबार दिउँसो कुटपिट गरेर भागेपछि लिम्बूको घरमा सुतेका कटुवालको सुतेकै स्थानमा मृत्यु भएको हो । स्थानीयको सूचनाका आधारमा शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुक्कुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै शव भेटिएको एसपी राईले बताए ।

अनिश र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्वकर्मामाथि मोबाइल चोरीको आरोप लगाएर बिहीबार दिउँसो ४ बजेतिर युवाहरूले केराबारीको मुगु पुलनजिक कुटपिट गरेको एसपी राईको भनाइ छ । कुटपिटपछि विशाललाई मोटरसाइकलमा राखेर लगेका युवाहरूले अनिशलाई भने घटनास्थलमै छोडेका थिए । जबरजस्ती युवाहरूले लिएर गएको जानकारी पाएलगत्तै प्रहरीले विशाललाई उद्धार गरेर पानमारा पु¥याएको थियो । चोरी भएको भनिएको मोबाइलको १७ हजार रुपैयाँ तिरिदिने कबुल प्रहरी कार्यालयमै गरेका विशालले साथमा रहेको चार हजार रुपैयाँ भने दिएका थिए । बाँकी १३ हजार दुई सातापछि तिर्ने शर्त राखेका उनलाई पानमाराकै विकास कटुवालले प्रहरी कार्यालयबाट जिम्मा लिएर लगेका थिए । मृतक कटुवालको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर घटनाको अनुसन्धानमा जुटेको प्रहरीले जनाएको छ ।