इटहरीः ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३, बोखिममा ट्याक्टर दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

हिजो अपराहन्न ३ः४५ बजे ओरक्पाबाट कुन्जरीतर्फ गोलिया लिई जाँदै गरेको मे१त ६८९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा चालक सोही स्थानका फुङ्लादिनका २३ वर्षीय अमिन लिम्बूसहित २५ वर्षीय वसन्त लिम्बू, १५ वर्षीय समिर लिम्बू र १९ वर्षीय सुसन लिम्बू घाइते भएका थिए । घाइते वसन्त र अमिनलाई हेलिकप्टरद्वारा घोपा धरान र समिर र सुसनलाई एम्बुलेन्सद्वारा अस्पताल पठाइएको थियो ।

घाइतेमध्ये वसन्तको घोपा धरानमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको तथा समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याउनासाथ बेलुका साढे ६ बजे मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार अन्य घाइते अमिन लिम्बूको घोपा धरानमा र सुसन लिम्बूको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।