इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीको प्रदेशस्तरीय अग्रणी कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथा प्रथम प्रदेश भेला यही मङ्सिर २१ र २२ गते इटहरीमा हुने भएको छ ।
नेकपा एस प्रदेश १ कमिटिले इटहरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रशिक्षण कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको छ । भेलामा पार्टी सुदृढीकरण र विस्तारका लागि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने योजना रहेको नेकपा एसले बताएको छ । पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष बलदेव चौधरीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विद्रोह गर्दै वैचारिक रुपमा पार्टीका कार्यकर्ताहरुलाई भुत्ते बनाउने एमाले प्रवृत्तिका विरुद्ध समाजवादी पार्टीले कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न सुरु गरेको जानकारी दिए । चौधरीले सो भेलालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला रुपमा सम्बोधन तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको बताए ।

मङ्सिर २१ र २२ गते आयोजना हुने सम्मेलनमा प्रदेश नम्बर १ का १४ जिल्ला र १ महानगरको जिल्ला कमिटीसहित १५ जिल्ला कमिटी पदाधिकारी र जनवर्गीय संंगठनका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यसहित चार सय ५० जनाले सहभागिता जनाउने छन् । नेकपा एसको प्रशिक्षणमा नेता प्रमेश हमाल, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी कार्यमा प्रचारात्मक कार्यको महत्वबारे र पार्टी सचिव तथा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्ययोजनाबारे बोल्ने कार्यसूची रहेको बताइएको छ ।
यसैगरी भेलाको दोस्रो दिनको कार्यक्रममा महासचिव बेदुराम भुषालले पार्टीको संगठनात्मक सिद्धान्त र आगामी कार्ययोजना, नेकपा एसका नेता झलनाथ खनालले जुम प्रविधिको उपयोग गर्दै वर्तमान नेपाली क्रान्ति र समाजवादको कार्यदिशा, संघीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज. घनेन्द्र बस्नेतले कम्युनिस्ट पार्टी सदस्यको नैतिक आचरणबारे प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ । पोलिटब्युरो सदस्य महेश रेग्मीले सञ्चालन गरको पत्रकार सम्मेलनमा उठेका विभिन्न सवालबारे इन्चार्ज घनेन्द्र बस्नेतले जवाफ दिएका थिए । कार्यक्रम नेपालकैं प्रसिद्ध ५५ थरिका चिया पाइने चिया चौतारीमा भएको थियो ।

















