रंगुनः म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाउने निर्णय गरेको छ ।

सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुई÷दुई वर्षको जेल सजाय सुनाएको थियो ।

समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका थिए ।

सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत ११ वटा आरोप लगाएको छ ।

गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो । उनलाई कहिलेदेखि जेलमा राखिने भन्नेबारे केही बताइएको छैन ।

सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो । उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो ।

सेनाले कू गरेपछि म्यानमारमा दिनदिनै जसो प्रदर्शनहरू भइरहेका छन्। ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएका छन् ।

आइतबारमात्रै रंगुन सहरमा भएको एउटा प्रदर्शनमा सेनाले गाडी कुदाएको थियो । -एजेन्सी