इटहरीः इटहरीका साथै देशकै खेलकुदका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका इटहरी निवासी केशवकुमार बिष्ट नेकपा (एकीकृत समाजवादी) को खेलकुद विभागको प्रमुखमा चयन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका अध्यक्षसमेत रहेका बिष्टलाई शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिएको हो । बिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्जसमेत हुन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भइसकेका बिष्टले इटहरीको खेलकुदका लागि क्लब निर्माण गर्नेदेखि लिएर खेलकुदका क्षेत्रमा लागेका व्यक्तिलाई सम्मान पनि गर्नुपर्छ भन्ने परिपाटीको विकास गरेका थिए । जनता माविको सानो प्राङ्गणमा मात्रै सिमित रहेको इटहरीको खेलकुदलाई राष्ट्रियकरण गरेर एउटै मैदानमा १३ वटा खेल हुन सक्ने रङ्गशालाको निर्माण गरेका बिष्टले आफ्नो जीवनको महत्वपूर्ण समय खेलकुद क्षेत्रको विकासमा खर्चिएका छन् । आफु पुर्वान्चल क्षेत्रिय खेलकुद संघमा हुँदा इटहरीमा रंगशालाको अभाव देखेर त्यसको लागि लड्न शुरु गरेको विष्ट बताउँछन् । 

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा मन्त्रिपरिषद्ले नै निर्णय गरेर रङ्गशालाको निम्ति साढे ८ बिघा जग्गा प्राप्त भएको र त्यसै जग्गामा आफू राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदा इटहरीमा मात्र विभिन्न खेलकुदको संरचनाको लागि ३७ करोडभन्दा बढी रकम निकासा गरेको बिष्टले बताए । आकारमा ठूलो नभएपनि इटहरीमा बनाइएको रंगशाला र खेलका लागि प्रशिक्षणसमेत गर्न सकिने स्थल डिजाइनमा नेपालकै पहिलो र राम्रो भएको बिष्टको दाबी छ । इटहरीमा बिष्टको अग्रसरतामा निर्माण भएको रंगशाला ब्याडमिन्टनको लागि ५ वटा ग्राउण्ड भएको नेपालकै पहिलो रंगशालामा पर्छ भने तेक्वान्दोमा नेपालकै ठूलो र भलिबलको पनि देशकै ठूलोमा आउँछ । संरचना तयार भएपनि अन्तिम चरणको केही काम बाँकी रहेकाले अहिले आफू त्यसको लागि लडिरहेको बिष्टले हामीलाई सुनाए ।

 २०६६ सालमा नेपाल खेलकुद महासंघको निर्माण हुँदा त्यसको सँस्थापक सदस्य रहेका बिष्ट अहिलेको राष्ट्रिय खेलकुद महासंघ समाजवादीमा बहुसंख्यक खेलाडीको आकर्षण रहेको बताउँछन् । खेलाडीको हकहितका लागि लडेको खेलकुद महासंघमा रहेका पदाधिकारीहरु कोही खेलकुद मन्त्री भएको र धेरै विभिन्न क्षेत्रमा पदाधिकारीको भूमिका निर्वाह गरिसकेकाले पनि लाखौँ खेलाडीहरु राष्ट्रिय खेलकुद महासंघ समाजवादीमा आकर्षित भएको बिष्टको भनाइ छ । आफू पार्टीको खेलकुद विभागको प्रमुख भएसँगै खेलाडीको हकहितका लागि आवाज उठाउने र खेलकुद क्षेत्रको सुधारका लागि लड्ने बिष्टले बताए । विभिन्न विधाका खेल खेलिरहेका खेलाडीहरुलाई प्रशिक्षण तथा रोजगारीको ग्यारेन्टी गर्न, लामो समयदेखि एउटै तहमा रहेको खेलाडीहरुलाई बढुवा गर्न तथा प्रतियोगिताहरुको निरन्तर आयोजना गरेर खेलाडीलाई सम्मान गर्न आफू लागिपर्ने बिष्टले बताए ।

 नेकपा एकीकृत समाजवादीले मङ्सिर २१ र २२ गते इटहरीमा आयोजना गरेको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजनामा मुख्य भूमिका निर्वाह गरेका बिष्टले नेकपा एमालेको गढ भनेर चिनिएको केपी ओलीको इलाका झापाको दमकमा आयोजना भएको नेकपा एसको कार्यक्रममा २ हजारभन्दा बढी खेलाडीको उत्साहजनक सहभागिता गराएका थिए । आफ्नै पार्टीको सरकार भएता पनि खेलकर्मीको अधिकारका लागि अनुरोध होइन दबाब सृजना गरेर लडाइँ लड्ने बिष्टको भनाइ छ । आफू खेलकुद विभागको प्रमुख भएसँगै सात वटै प्रदेशमा संगठन सबलीकरण गरेर खेलकर्मीहरुलाई समेत पार्टीमा आबद्ध गरेर अगाडि बढ्ने बिष्ट बताउँछन् ।