इलामः इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । आज सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो । उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैया प्राप्त गरेको छ ।

खेलको पहिलो हाफमा २ गोल गरेको मानेभज्याङले दोस्रो हाफमा समेत २ गोल थप्यो । खेलको दोस्रो हाफको मध्यतिर सुराग क्षेत्री रातो कार्ड पाउदै मैदान बाहिरिए पनि सुखानीको पोष्टमा मानेभञ्ज्याङले २ गोल थप्न सफल रह्यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता सुराग घोषित भए । खेलको बेष्ट गोलकिपर आयोजक माइजोगमाई रातोका सुजन फागो घोषित भए । बेष्ट डिफेन्स सुखानीका सेरेहाङ लिम्बू घोषित भए । बेष्ट फरवार्ड मानेभज्याङका सन्दीप लिम्बू र बेष्ट मिडफिल्डर विवेक राई घोषित भए । उर्निहरुले नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेतालाई प्रमुख अतिथि र विशेष अतिथिले पुरस्कार वितरण गरेका थिए ।

mjm3

फाइनलअघि भएको मैत्रीपुर्ण खेलमा सूर्योदय नगरपालिकाको कान्दुक फुटसल टिम र अमरकल्याण मावि बिजयी भए । यु–१४ अन्र्तगत अमरकल्याणले टाइब्रेकरमा शुभकन्या इङलिस स्कुल र भेट्रानअन्र्तगत कान्दुकले माइजोगमाई भेट्रानलाई पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र माइजोगमाई खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितामा नेपालका ७ सहित ८ टोलिको सहभागिता रहेको थियो । कार्यक्रममा खेलकुद परिषद्का अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता र प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा माइजोगमाई गाउँपालिकाको अध्यक्ष जितबहादुर राई र सूर्योदय नगरप्रमुख रनबहादुर राईको विशेष आतिथ्य रहेको थियो । प्रतियोगिता गत मङ्सिर २१ गतेबाट सुरु भएको हो । प्रमुख अतिथि विशेष अतिथि र वडा नं ६ का वडाध्यक्ष भवानीप्रसाद लिङ्दमले शुभकामना मन्तव्य राखेको कार्यक्रममा खेलकुद परिषद्का सदस्यसचिव प्रविन राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन मुकुन्द पौडेलले गरेका थिए ।

mjm1