इलामः प्रदेश पोर्टल डटकमका संवाददाता समेत रहेका इलामका पत्रकार नमिन ढकाल र उसु खेलाडी जुनी राई सहित अन्यलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रालयले ढकाल सहित १० जना खेलकुद पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार र राई सहित खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी १० जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने भएको हो ।
ढकाल २०६८ सालबाट विभिन्न संचारमाध्यममा आवद्ध भई खेलकुद क्षेत्रका समाचार लेख्दै आएका छन् । १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता देउमाई नगरपालिका–३ की जुनी २०६८ सालबाट उसु खेलमा सक्रिय छन् । उनी खेलकुद पत्रकार मञ्च झापाले प्रदान गर्दै आएको झापा स्पोर्टस अवार्ड २०७६ को उत्कृष्ट महिला खेलाडी समेत हुन् ।

263157447_205132421807146_108919685302689163_n
मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार कान्तिपुर दैनिकका हिमेश रत्न बज्राचार्यलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी, कान्तिपुरकै सन्जु पौडेल र ढोरपाट दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि प्रदेश नं १ बाट स्थानीय सन्देश साप्ताहिकका नमिन ढकाल, प्रदेश नं २ बाट नयाँ पत्रिका दैनिकका बसन्त खतिवडा, बागमती प्रदेशबाट कान्तिपुर दैनिकका कुशल तिमल्सिना, गण्डकीबाट ग्यालेक्सी फो के टेलिभिजनकी सोनिता अर्याल, लुम्बिनी प्रदेशबाट रेडियो नमस्तेका दिपक न्यौपाने, कर्णाली प्रदेशबाट गुराँस खवर डटकमका रमेश कुमार पाण्डे र सुदुरपश्चिम प्रदेशबाट राससका विनोद सिंह विष्टलाई छनोट गरिएको छ ।

७ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायकलाई प्रतिभा सम्मान प्रदान गरिने भएको हो । उसुतर्फ चार खेलाडी सम्मानित हुने भएका छन् । ललितपुरकी निमा घर्ति मगर, सुर्खेतका दिपक हमाल, इलामकी जुनी राई (हाल धादिङ) र भक्तपुरकी सुस्मिता तामाङ रहेका छन् । काठमाडौंका कराँते खेलाडी एलेन श्रेष्ठ, सल्यानकी एथलेटिक खेलाडी पुष्पा भण्डारी तथा पारा खेलकुदतर्फका केशव थापाले खेलकुद प्रतिभा सम्मान प्राप्त गर्ने भएका छन् ।

त्यसैगरी, तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि सो सम्मान प्रदान गरिने निर्णय भएको छ । रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्कालाई सम्मान गरिने भएको छ । उनीहरुलाई नगदसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।