इटहरीः हिमपात र वर्षाका कारण देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने विभागले आज जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।