इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज आइतबार पर्न गएको किराँतहरुको पर्व उधौली र नेवार जातिको पर्व यमरिको को अवसरमा प्रदेश एक सहित देश विदेशमा रहेका सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
मन्त्री राईले आइतबार एक शुभकामना मन्तव्य जारी गर्दै हरेक बर्ष मार्ग शुक्ल पुर्णिमाका दिन मनाईने यी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुन ।
किराँत मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद(जाडो) शुरु हुने र यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् भएकाले यस दिन मनाइने पर्व(साकेला)लाई उधौली भनिएको र उधौली पर्व अन्नबाली भित्र्याएपछि अथवा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाउने पर्व भएकाले यसको छुटै महत्व रहेको मन्त्रीलाई द्धाराी जारी शुभकामना बत्तव्यमा उल्लेख गरिएको छ ।
उद्यौली पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । त्यसैगरी यो पर्वमा आफ्नो मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला(चण्डी) गीत गाउने, नाच्ने चलन रहेको बताइएको छ ।
नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ । यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ । यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ ।
यःमरि पर्वका दिन अन्न भण्डारमा यःमरि, लक्ष्मी, गणेश, कुबेर आदिको प्रतीक÷प्रतिमा बनाई चढाउने पनि गरिन्छ । यसरी अन्नभण्डारमा चढाएको यःमरि चार दिनपछि निकालेर बाँडेर खाने गरिन्छ । यःमरि पुन्हिका दिन घरघरमा गएर यःमरि गीत गाउँदै यःमरि माग्ने चलन पनि छ ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको कुरालाई संविधानले पनि स्वीकारेको र विविधताबीचको एकता हाम्रो सुन्दरता र हाम्रो शक्ति भएको मुख्य मन्त्री राईको भनाई छ । एक अर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य हो भएको बताउँदै मन्त्री राईले उधौली र यःमरि पुन्हि जस्ता पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, भन्दै राईले शुभकामना व्यक्त गरेका छन् ।