इटहरीः भरतपुरको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम धुर्मुस सुन्तली फाउण्डेसनले नगर्ने भएको छ ।
आर्थिक सहयोग जुटाउन नसकेपछि फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै अव आफुहरुले काम गर्न नसक्ने जानकारी गराएको हो ।
लामो समयदेखि रङ्गशाला निर्माणको काम रोकिएपछि भरतपुर महानगरपालिकाले निर्माणको काम अघि बढान या त सम्झौता अनुसार स्वामित्व हत्तान्तरण गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई दवाव दिएपछि फाउण्डेसनले यस्तो निर्णय लिएको बताइएको छ ।
५४ करोड रुपैयाँको लागतमा रङ्गशालाको ३४ प्रतिशत काम गरीसकेको जनाउने फाउण्डेसनले बाँकि काम सम्पन्न गर्ने गरी आफ्नो स्वामित्व लिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ ।
फाउण्डेसनले निर्माणको काम गर्नुभन्दा पहिले गरिएको सम्झौता अनुरुप रङ्गशालाको स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भएअनुसार स्वामित्व लिन महानगरपालिकालाई भनेको छ ।
पत्रमा भनिएको छ, “फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ ।”

thumb

निर्माण सम्झौताका क्रममा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख गरिएको थियो । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ ।
फाउण्डेसनको पत्र पाएलगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको भरतपुर महानगरपालिकाले बताएको छ ।
। महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।
बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको भरतपुर महानगरपालिकाले बताएको छ ।
महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको थियो । फाउण्डेशनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।