धरानः धरान प्रहरीले १६ घण्टाभित्र १४ किलो गाँजा र २ सय ग्राम लागूऔषध चरेससहित २ जना युवालाई पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३३ वर्षिय विष्णु राई र उदयपुरका १९ वर्षीय एलन राई पक्राउ परेका हुन् ।
‘सप्राइज चेकिङ’को क्रममा विष्णुलाई धरान–२० विष्णुपादुकास्थित भन्ज्याङबाट शनिबार राती साढे १० बजे १२ केजी गाँजा र को ३० प ७३५५ नम्बरको रातो पल्सर मोटसाइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जबेगूले बताए ।
उनका अनुसार मोटरसाइलमा विष्णुसहित अर्का एक युवा आउँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी विष्णुपादुकाको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा मोटरसाइकल पछाडी सवार विष्णु पक्राउ परेका थिए भने मोटरसाइकल चालक भागेका थिए । फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको जबेगूले बताए ।
त्यस्तै, धरान–६ पानबारीबाट एलनलाई २ किलो गाँजा र २ सय ग्राम चरेससहित प्रहरी नियन्त्रणमा लिएको थियो । अस्थायी प्रहरी चौकी पानबारीको प्रहरी टोलीले को २ ह २८२४ नम्बरको टेम्पो चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा र चरेससहित आइतबार दिउँसो पौने ३ बजे उनलाई नियन्त्रणमा लिइएको जबेगूले बताए ।
लागूऔषध नियन्त्रण ऐन २०३३ मा १० केजी भन्दा माथि पक्राउ परेकालाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । सोही बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जबेगूले बताए । अहिले गाँजाको सिजन भएकाले प्रहरीले अहिले चेकिङलाई तीव्रता दिएको उनले बताए ।
‘अहिलेको सिजन भनेको प्राय गाँजा उत्तरी भेगपट्टिबाट आउने अनि पहिला पहिलाको हिस्ट्री हेर्दा पनि त्यही पाएकोले हामीले बेलाबेलामा सप्राइज चेकिङ राख्ने क्रममा सफल्ता हासिल गर्यौैं,’ जबेगूले भने ।