बराहक्षेत्रःबराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोशी बहुमुखी क्याम्पसलाई सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ७ कार्यालयद्वारा क्याम्पस बसको लागि इन्धन खर्चस्वरुप ५० हजार बराबरको सहयोग प्राप्त हुने भएको छ । आज (शुक्रबार) स्नातक चौथो वर्षलाई बिदाई गर्ने कार्यक्रममा बोल्दै वडा अध्यक्ष वीर बहादुर लिम्बूले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
यता, सप्तकोसी क्याम्पसलाई आज धेरै विद्यार्थीको शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने क्याम्पस प्रमुख खगेन्द्र निरौलाले क्याम्पसको निम्ति आफूले देखेको सपना साकार हुँदै गरेको बताएका छन् । क्याम्पस भवन निर्माण र संचालनका निम्ति सहयोग गर्ने दाताहरुलाई स्मरण गर्दै क्याम्पस प्रमुख निरौलाले भनेका छन्, आफ्नो एक महिनाको तलब काटेर क्याम्पसलाई सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिप्रति आभारी छु । त्यस्तै, क्याम्पसको स्तरउन्नतिका लागि सहयोग गर्ने बराहक्षेत्र नगरपालिका, संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्की, प्रदेश सांसद जगदीश कुसियतलाई समेत स्मरण गरेका छन् ।
प्रमुख निरौलाले क्याम्पसमा आयुर्वेदिक अस्पताल, प्राकृतिक चिकित्सालय र कृषि विषयको समेत कक्षा संचालनको लागि पहल गरिने बताए । क्याम्पसलाई यस स्थानमा ल्याइपुर्याउने आफ्नो सपना साकार भएको उधृत गर्दै निरौलाले भने, कलेजको स्तर उन्नतिमा आफू सदैब तत्पर हुनेछु ।
नेबिसंघ नेता बिज्ञान लिम्बू, अनेरास्ववियुका क्याम्पस अध्यक्ष सुरज भट्टराई, स्वबियु सभापति प्रतीक राई, क्याम्पस संचालक समिती उपाध्यक्ष इनु अधिकारी, शिक्षक लक्ष्मीप्रसाद गड्तौलाले मन्तव्य राख्दै क्याम्पसलाई धेरै विद्यार्थीको शैक्षिक गन्तव्य बनाउनका निम्ति सबैले आफ्नो तह र तप्कामार्फत भूमिका खेल्नुपर्ने बताए । स्नातक तेस्रो वर्षका विधार्थीले आयोजना गरेको सो कार्यक्रममा निलन्जन लामिछानेको सभादक्ष्यतामा क्याम्पस संचालक समिती अध्यक्ष भुवनाथ दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

















