इटहरी:पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी परेको छ । आजको मौसम दिनभर पानी पर्दै रोकिँदै गर्ने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम बिभागले बताएको छ ।
अहिले पनि उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । काठमाण्डौको चन्द्रागिरिमा हिमपात भएको छ भने देशका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहानै देखि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्हरुले बताएका छन् । आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । काठमाण्डौसहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ ।
यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो बतास चल्न थालेको छ । यसले तराईको जनजीवन कष्ठकर बनाएको छ ।
यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ ।
अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।