इटहरीः धनकुटा जिल्लाको भेडेटारमा आयोजना हुन लागेको भेडेटार फुड फेस्टिवल आज शुक्रबारबाट सुरु हुने भएको छ ।
तीन दिन सम्म चल्ने फेस्टिवलको उद्घाटन प्रदेश एक सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री हिमाल कार्कीले गर्ने आयोजक संस्था होटल एसोसिएशन भेडेटारले बताएको छ । उद्घाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिने बताइएको छ ।
अँग्रेजी नयाँ बर्ष र भेडेटारको सुन्दरता हेर्न आउने स्वदेशी र भारतीय पर्यटकलाई लक्षित गरी हरेक बर्ष फुड फेस्टिवलको आयोजना गरिने गरेको भेडेटार होटल एसोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् ।
२०६९ साल देखि हरेक बर्ष अँग्रेजी नयाँ बर्षको अबसरमा हुने फुड फेस्टिवलको नवौँ सँस्करण यसपालि हुँदैछ । दशौं सस्करण हुनुपर्नेमा गत बर्षको फेस्टिवल कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।
फुड  फेस्टिवलमा भेडेटारमा पाइने बिभिन्न जात जातिका खानाको प्रदर्शनी गरिनुका साथै त्यहाँको साँस्कृतिक झाँकिहरु समेत प्रदर्शन गरिने र पर्यटकलाई मनोरन्जन प्रदान गरिने सह आयोजक संस्था नेष्टका सचिव नर बहादुर चेम्जोङ्गले बताए ।
आमा समुह भेडेटार, पाथिभरा क्लव, नागरिक समाज भेडेटार, स्थानिय सरकारको रुपमा रहेको साँगुरिगढी गाउँपालिका, पर्यटन बोर्ड लगायतले महोत्सवलाई सहयोग गरेको बताइएको छ ।
नेष्टका सचिव चेम्जोङ्गका अनुसार भेडेटार फुड फेस्टिवलले भेडेटारको पर्यटन प्रवद्र्धनका साथै स्थानिय खानाको प्रवद्र्धन हुनका साथै ठप्प रहेको पर्यटनलाई उकास्ने र स्थानीय उत्पादनलाई समेत प्रोत्साहन हुनेछ ।
 फेस्टिवल मा स्थानिय महिला उद्यमीहरुले उत्पादन गरेको अचार देखि लिएर बिभिन्न जात जातिको पहिचान झल्किने खाना तथा परिकारहरु समेत प्रवद्र्धन हुने भएकाले यस चाँडको विशेष महत्व रहेको आयोजक संस्था भेडेटार होटल एसोसिएशनका सह कोषाध्यक्ष रमेश श्रेष्ठ बताउँछन् ।
 फेस्टिवलमा आउने पर्यटकहरुले भेडेटारको सुन्दरताको साथमा यहाँको जीपलाइन, नमस्ते झरना, प्याराग्लाईडिङ्ग, पाथिभारा मन्दिर, झण्डि डाँडा, शङ्गखेस्वर मन्दिर, सुर्यदय बौद्ध गुम्वा, सनराईज हेर्नको लागि प्रशिद्ध धोजे डाँडा, जैतुन पार्क , एसियाकै ठुलो बरको रुख, भेडेटारबाट २० किलोमिटर टाढा रहेको रानी ताल लगायतको भ्रमण गर्न पाउनेछन् । फन फ्लाइटका लागि हेलिकप्टर राइड, होटल तथा लज र यहाँका पर्यटकीय गन्तव्यमा महोत्सवको अवसरमा छुट योजना सार्वजनिक गरिएको छ । पर्यटकीय गन्तव्य सहित राईहरुको खाना, लिम्बु जातिहरुको खाना, बाँसको जराबाट बन्ने बिभिन्न आकृती सहित बिभिन्न १२ वटा स्टलहरु रहने आयोजक होटल एसोसिएशन भेडेटारका अध्यक्ष राईले बताए । भेडेटारमा रहेका अन्य पर्यटकीय गन्तव्यमा जानको लागि यातायात व्यावसायीहरुको सहयोगमा कम खर्चमै सबै गन्तव्य घुमाउने कार्यक्रम समेत रहेको बताइएको छ ।