मोरङः लाखौं रुपैयाको घोटाला लुकाउन मोरङ स्थित रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले आफु अनुकुल साधारणसभा गराउन लागेका छन् ।
संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले सहकारीबाट लाखौं रुपैया अपचलन गरेको अडिट रिपोर्ट सहित छानबिन समितीको प्रतिवेदनले पुष्टि गरिसकेको छ । १५ वर्ष देखि अध्यक्ष पदमै रहेका निरौलाले आफ्नो कार्यकालमा गरेको अपचलनहरु लुकाउन आर्थिक वर्ष २०७७/७८ को साधारणसभा आफु अनुकुल गराउन लागेको शेयर सदस्यहरुको आरोप छ ।
आर्थिक वर्ष २०७४/७५ को साधारणसभामा निरौलाले गरेको आर्थिक अपचलन बाहिरिएको थियो । उनले गरेको लाखौं रुपैयाको अपचलनको विषयमा छानबिन गर्न समितीनै बनेको थियो । तर समितीले बुझाएको प्रतिवेदनमा छलफल नै नगरि साधारणसभा बन्द गरिएको थियो । अहिले हुन लागेको १६ औं साधारणसभा नयाँ कार्यसमिती निर्वाचन गर्ने भएकाले आफु अनुकुल सभा गर्न लागेको शेयर सदस्य रेवत काफ्लेको भनाई छ ।
उनका अनुसार अडिट रिपोर्टले अपचलन गरेको ५ लाख १५ हजार ७ सय ७३ रुपैया असुल गरिसकेको पुष्टि गरिसकेको छ भने तत्कालिन व्यवथापक महाप्रसाद दाहालले १ लाख ६४ हजार फिर्ता पाउने पुष्टि गरेको थियो । तत्कालिन दाहालले संचालक समिती सदस्य युवराज कोइरालालाई आन्तरिक राजस्व कार्यालय विराटनगरमा अग्रिम आयकर दाखिला गर्न दिनका लागि दिएको १ लाख ६४ हजार को भौचर नबुझाएको आरोपमा उनलाई ऋण तमशुक गराइ ब्याज समेत लिएको थियो । तर २०७४/७५ को अडिट रिपोर्टले दाहालले रकम फिर्ता पाउनुपर्ने रिपोर्टले जनाएको थियो ।
संचालक समिती अध्यक्ष निरौलाले सार्वजनिक संस्थाले जग्गा खरिद गर्दा पालना गर्नुु पर्ने नियम समेत उल्लंघन गरि अध्यक्ष निरौला सहितको समुहले आफुुखुसी जग्गा गरिद गरेका थिए । २०७४ सालमा सहकारीका लागि डेढ कट्टा जग्गा खरिद गर्दा चलनचल्तीको भन्दा धेरै दाम हालेको र मालपोतमा तिरेको राजश्व बराबर संस्थाको लेखापरिक्षणमा नदेखाएको तथ्य फेला परेको छ ।
२०७४ सालमा जग्गा खरिद गर्दा १० लाख रुपैयाँ प्रति कठ्ठा बिक्री वितरण भईरहेको जग्गालाई संस्थाले १० लाख ६१ हजारमा खरिद गरेको भएता पनि मालपोत कार्यालय रंगेलीले राजश्व लिएको रसिदमा भने १५ लाख ९१ हजार ५ सय रुपैयाँ थैली रकम राखिएको छ । तर अडिट रिपोर्टमा भने १७ लाख ६१ हजार रुपैयाँमा खरिद गरिएको सहकारीका सेयर सदस्य रेवत काफ्लेले बताए । रकम अपचलनको कुरा उठाउँदा संचालक समितीले प्रशासनको आडमा छलफलनै गर्न नदिई सभा भाडेको उनको आरोप छ ।
सहकारीका असन्तुष्ट ७ जना शेयर सदस्यले मंगलबार पत्रकार सम्मेलन गरि अहिले सम्मको अपचलन रकम लुकाउन आर्थिक वर्ष २०७७/७८ को साधारणसभा आफु अनुकुल गर्न खोजेको बताएका छन् । काफ्लेले भने, आर्थिक वर्ष २०७६/७७ को साधारणसभामा छानबिन समितीले बुझाएको प्रतिवेदन किन कार्यान्यवन भएन भनेर कुरा उठाउँदा निरौलाले नै रोके, अहिले आफु अनुकुलको निर्वाचन समिती बनाएको छ, आफ्ना मान्छेहरु मात्रै उपस्थिती गराउन खोजिएको छ ।’ यसबाट अध्यक्ष निरौलाले लाखौं रुपैयाको घोटाला लुकाउन खाजेको प्रष्ट भएको काफ्लेको भनाई छ । आफुले गरेको आर्थिक घोटालाको कर्तुत बाहिरीने डरले साधारणसभाको सुचना नदिएको संस्थाका शेयर सदस्यको भनाई छ ।