बराहक्षेत्रः चारधाम मध्येको एक बराहक्षेत्रधाममा लाग्ने यसपटकको माघे सङ्क्रान्ति मेलाको तयारी तीब्र पारिएको छ । मेलालाई व्यबस्थित गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाल स्काउट धरान शाखासँग समन्वय गरिने भएको हो ।

प्रत्येक वर्ष मेला आयोजना गर्दै आएको बराहक्षेत्र संरक्षण मन्चले यसपटकको लागि तयारी तीब्र गरिरहेको संरक्षण मंचका सचिव राजु घिमिरेले जानकारी दिए । उनले भनेका छन्,–‘भक्तजनको सहजताका लागि कोशीको छेउछाउ र ब्यापारीक स्टलहरुमा बिजुलीबत्तिको व्यवस्था गरिने छ ।’कात्तिके मेलामा स्टल राखेका व्यापारीलाई भने पुनः यसपटक शुल्क नलिने उनको भनाइ छ ।
मेलामा एक लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । नेपालका विभिन्न स्थान लगायत भुटान, सिक्किम, दार्जिलिङबाट समेत तिर्थयात्री आउने बुझिएको छ । तिर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको घिमिरेको भनाइ छ । भक्तालुहरु पौष मसान्तमा आएर भोलिपल्ट मकर नुहाएर फर्किने प्रचलन छ । पौष ३० गते भने भव्य मेला लाग्ने गरेको छ ।