विराटनगरः प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिएका छन् । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उनले बताए ।
जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आइतबार भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् । सहकारी विपन्न वर्गका लागि सहरा भएको उनले बताए ।
मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताए । उनले भने,‘ सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ ।’ मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएको बताए । सहभागिताका आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई उनले आग्रह गरे ।
साधारणसभामा प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनश्याम खतिवडा, संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाहकार तारादेवी राई, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले आ आफ्ना धारणा राखेका थिए ।