इटहरीः नेपाल सरकारले सार्वजनिक ठाउँमा २५ जना भन्दा माथि भेला हुन नपाइने गरी स्वास्थ्य मापदण्ड सार्वजनिक गरेको छ । बढ्दै गएको ओमिक्रोन भाइरसको संक्रमणलाई मध्येनजर गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले माघ १५ गते सम्म भिड नियन्त्रण गर्न भन्दै भोलि(सोमबार) बाटै लागू हुने गरि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय समेत गरेको छ । स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय बन्द गर्न सुझाव दिएको थियो । भिड र हुलहुज्जतमा सामेल भएकै कारण आइतबार मात्रै एक हजार ६ सय भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो ।