बराहक्षेत्रः उदयपुरको बेलका नगरपालिका ८ मा पर्ने कोलुङ झर्ना पर्यटकीय संभावना बोकेको स्थल भएपनि ओझेलमा परिरहेको पाइएको छ ।
उदयपुर र सुनसरीको ‘ट्रान्जिक्ट पोइन्ट’चतराको नयाँ कोशीपुल छेउमै रहेको झर्नाको बारे स्थानीय नै अनबिज्ञ रहेको बुझिएको छ । कोशीपुलबाट बाट १ किलोमिटर अगाडि (बराहक्षेत्र मन्दिरतर्फ) यात्रा गरेपछि एउटा चौतारी भेटिन्छ । त्यसपछि पुरानो झोलुङ्गे पुल तर्नुपर्छ र, कोलुङ झर्ना पुगिन्छ । स्थानीयकाअनुसार बर्षामा ठूलो बग्ने गरेको झर्ना हिउँदमा भने सानो हुने गर्दछ । यद्यपि आजसम्म १२ मास नै झर्ना सुकेको भने छैन् ।
अरुबेला सुनसान जस्तै बन्ने सो स्थानमा सनिबार भने यदाकदा युवायुवतीको भिड हुने गरेको बुझिएको छ । मोरङको गोठगाउँबाट झर्ना घुम्न आएका ज्ञानेन्द्र दाहाल भन्छन्, ‘कृतिम ठाउँमा गएर घुम्नुभन्दा कोशीको छेउमै रहेको यो प्राकृतिक झर्नामा घुमेर आनन्द फिल भयो ।’
झर्नासम्म पुग्नको लागि कोशीपुल पारी (उदयपुरतर्फ) बाट बनेको बाटो बर्षायाममा हिलाम्मे हुने गरेको स्थानीय बताउँछन् । हिउँदमा भने सवारीसाधन मार्फत झर्ना पुग्न सकिन्छ तर वर्षायाममा १ घण्टा पैदल हिड्नुपर्ने हुन्छ ।
यसैबीच बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले स्थानीय सरकारले तर्फबाट झर्ना प्रबद्र्धनमा कार्य भइरहेको बताइन् । उनले भनिन्, झर्नासम्म पुग्ने बाटोको लागि समस्या छ भने बजेटको व्यवस्था गर्ने काम स्थानीय सरकारले गर्नेछ ।
स्थानीय सरकारले झर्ना प्रचारका लागि होडिङ बोर्ड राखेको देखिदैन् । झर्नाको आसपासका बनभोज खाने, नाइट क्याम्पिङ गर्ने स्थानको रूपमा बिकसित गर्न सके अथाह पर्यटक भित्रिन सक्ने देखिन्छ ।

















